वि.सं:
नेपाल संवत: ११४५ तछलाथ्व नवमी - ९
परिचय
बि.सं. २०१३ सालमा स्थापना भएको कृष्णनगर भन्सार कार्यालय नेपालको लुम्बिनी प्रदेश अन्तर्गत कपिलवस्तु जिल्लामा अवस्थित एक महत्वपूर्ण सीमावर्ती भन्सार नाका हो। यो कार्यालय कपिलवस्तु जिल्लाको कृष्णननगर नगरपालिका वडा नं. २ कृष्णनगरमा रहेको छ भने भारतको उत्तर प्रदेश राज्यको बढनी बजारसँग प्रत्यक्ष सीमा जोडिएको भन्सार विन्दुका रुपमा रहिआएको छ।भारतसँग सिमा जोडिएको कपिलवस्तु जिल्लाको सम्पुर्ण सिमा क्षेत्र यसको कार्यक्षेत्र रहेको छ । यस कार्यालय अन्तर्गत ४ वटा छोटी भन्सार कार्यालयहरु भिल्मी, हरिहरपुर कुशहवा, हरदौना रहेका छन् ।तर हाल सबै छोटी भन्सार कार्यलयहरुको प्रत्यक्ष सेवा बन्द रहेको अवस्था छ । नेपालको अर्थ मन्त्रालय अन्तर्गतको भन्सार विभाग मातहत सञ्चालित यस कार्यालयले भारतसँगको आयात-निर्यात व्यापार व्यवस्थापन, राजस्व संकलन र सीमाको सुरक्षा व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको छ।
यो नाका नेपालको दश प्रमुख भन्सार कार्यालयहरुमध्ये एक हो, जहाँबाट विशेष गरी कपिलवस्तु, अर्घाखाँची, दाङ, प्युठान, रोल्पा लगायतका क्षेत्रमा आपूर्ति हुने वस्तुहरूको आवागमन हुने गर्दछ। कृष्णनगर भन्सार कार्यालय पूर्व-पश्चिम महेन्द्र राजमार्ग र हुलाकी राजमार्गसँग जोडिएको एफ-१२ (चन्द्रौटा-कृष्णनगर) सडकमार्फत सुगम पहुँचमा रहेको छ । दाङको राप्ती गाँउपालिकामा अवस्थित लुम्बिनी प्रदेश सरकारको मुख्य मन्त्री कार्यालय तथा अन्य मन्त्रालयहरुसँग यो भन्सार विन्दु 55 कि.मी. मात्र दुरीमा रहेको छ । यो कार्यालय भैरहवाबाट लगभग ७३ किलोमिटर र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ७१ किलोमिटर टाढा पर्छ।
यस भन्सार कार्यालयमा आधुनिक सिसीटिभी निगरानी प्रणाली जडान गरिएको छ, जसले कार्यालयको गतिविधि विभागसम्मबाट पनि नियमन गर्न सहज बनाएको छ। हाल कार्यालयका प्रमुख भन्सार अधिकृत श्री फणिन्द्र खतिवडा हुनुहुन्छ।
यो भन्सार नाका न केवल व्यापारको माध्यम हो, तर नेपाल-भारत सीमावर्ती सम्बन्ध र सुरक्षाको दृष्टिले पनि अत्यन्त संवेदनशील तथा रणनीतिक स्थानमा अवस्थित छ।